नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । देश संघीय शासन प्रणालीमा गईसकेकाले संघीय संरचनाको बस्तुगत धरातलमा आधारित रहि गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहुँच पुर्याउन राज्यको दायित्व हो ।
संघीयता लागू भईसकेकाले प्रदेश सरकारहरुले पनि स्वास्थ्य सेवा लगायत सामाजिक जिम्मेवारी वहन गर्न शुरु गरे संगै नागरिकलाई सर्वससुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम स्थापित स्वास्थ्य संस्था हो । तत्कालिन अवस्थामा हुने गरेको औलो रोगको महामारी संगै नेपालमा कुनै न कुनै प्रकारले स्वास्थ्य सेवा शुरु गरेको देखिन्छ । २०३४ सालमा नेपालबाट विफर उन्मुलन भएको र तत् पश्चात स्वास्थ्य सेवा प्रदान गर्नको लागि विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु छुट्टाछुट्टै शुरु भएको देखिन्छ ।
संघीय नेपालमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना हुनु अघि वि.सं. १९९० सालमा स्वास्थ्य क्षेत्रको विभिन्न क्रियाकलापहरु समेटेर स्वास्थ्य सेवा विभागको स्थापना भएको थियो । २०११ सालमा स्वास्थ्य मन्त्रालयको स्थापना गरियो । स्वास्थ्य क्षेत्रका विभिन्न प्रकारका सेवाहरुलाई एकिकृत गरेर वि.सं. २०४४ सालमा स्वास्थ्य सेवा विभागलाई विगठन गरि सबै सेवाहरुलाई मन्त्रालयका महाशाखाको रुपमा समाहित गरियो । फेरी पछि २०५० सालमा स्वास्थ्य संरचनाहरुको फेरबदल गरि स्वास्थ्य सेवा विभागको पुनर्ठगन गरि सबै जिल्लाहरुमा जिल्ला स्वास्थ्य कार्यालयहरुको स्थापना गरियो । जिल्ला स्वास्थ्य कार्यालय स्थापना हुनु पूर्व २०४५ साल माघ महिना देखि जिल्ला अस्पतालले जाजरकोट जिल्लामा उपचारात्मक सेवाहरु शुरु गरेको थियो भने जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोट १ वटा तथा रोकायगाँउ (लिम्सा), सकला, खगेनकोट (दल्ली), ढिमे (घरङ्गा), जगतिपुर (कुदु), भुर, सिमा र दशेरामा गरि जम्मा ८ वटा स्वास्थ्य चौकीहरुबाट उपचारात्मक सेवाका साथै प्रबर्धनात्मक र प्रतिकारात्मक सेवाहरु दिइन्थ्यो ।
संघीय शासन व्यवस्था आएपछि जिल्लामा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय अलग अलग रहि अस्पतालले बढि उपचारात्मक कार्य गर्ने र प्रतिकारात्मक तथा प्रवर्धनात्मक सेवामा बढि कार्य गर्ने गरि स्वास्थ्य कार्यालयको संरचना बनाईयो । हाल देशभर यसै प्रकारका स्वास्थ्य संस्थाहरु रहेका छन् । तर कर्णाली प्रदेश सरकारले एकिकृत रुपमा सेवा पुर्याउने गरि स्वास्थ्य सेवा कार्यालयको व्यवस्था गरेको छ । स्थानीय तहहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका, गाँउघर क्लिनिक, सामुदायीक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्र र आधारभुत स्थास्थ्य सेवा केन्द्रहरुका साथै अस्पतालहरु रहने व्यवस्था गरेको छ । ति संस्थाहरुले सबै प्रकारका प्राथमिक सेवाहरु दिने व्यवस्था मिलाईएको छ । आधारभुत अस्पताल, सेकेन्डरी अस्पताल, टर्सरी अस्पतालका साथै केन्द्रिय अस्पताहरुको व्यवस्था गरिएको छ । तर हाल जिल्लामा उल्लेखित संस्थाको साथै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालको रुपमा नै स्वास्थ्य संस्थाहरुले काम गरिरहेका छन् ।
यस जिल्लामा ३ वटा नगरपालिका र ४ वटा गाँउपालिका गरि जम्मा ७ वटा स्थानीय तहहरु रहेका छन् भने उक्त नगर तथा गाँउपालिका मध्ये बारेकोट गाँउपालिकाले आधारभुत अस्पताल, लिम्सा, नलगाड नगरपालिकाले आधारभुत अस्पताल, नलगाड (दल्ली) र छेडागाड नगरपालिकाले आधारभुत अस्पताल, छेडागाड स्थापना गरिसकेका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको यस कार्यालयले मुलत: जिल्लामा नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान लगायत जनचेतनामुलक समेतका कार्य गर्दै कर्णाली प्रदेश सरकारको प्रतिनीधीको रुपमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि सम्पर्क कार्यालयको रुपमा रहि स्वास्थ्यसंग सम्बन्धित सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यहरु गर्ने गर्दछ । यस कार्यालय अन्तरगत रहेको आयुर्वेद शाखा हाल छुट्टिएर अलगै कार्यालयको रुपमा स्थापना भई काम शुरु गरेको छ । हाल यस कार्यालय अन्तरगत तीन वटा शाखाहरु मात्र रहेका छन् । ति ३ वटा शाखाहरु मध्ये जनस्वास्थ्य तथा परिवार कल्याण शाखाले खासगरि प्रतिकारात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवाहरु दिंदै आइरहेको छ भने उपचार सेवा शाखा (जाजरकोट जिल्ला अस्पताल) ले उपचारात्मक सेवा दिंदै आईरहेको छ । सामान्य प्रशासन शाखाले कार्यालयको आर्थिक तथा प्रशासनिक भुमिका निर्वाह गर्दै आईरहेको छ । हाल स्वास्थ्य सेवा कार्यालयले आफ्नै नवनिर्मित ५० शैयाको भवनमा सम्पूर्ण कामकाजका साथै सेवा प्रदान गर्दै आईरहेको छ ।